Lite Nepal

बिहिबार, आषाढ ११, २०८३

विराटनगर । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्यांकर पार्किङ स्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ।

इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी आइतबार कञ्चनबारीस्थित पार्किङमा राखिएको को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते सोमबार बिहान हराएको थियो । नविन ढुवानी सेवा प्रालिको उक्त ट्यांकर हराएको जानकारी ढुवानीकर्ताले निगमलाई लिखित रूपमा गराएका थिए।

ट्यांकर हराए लगत्तै निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई खबर गरेको थियो। प्रहरीको सीसीटीभी फुटेज जाँच गर्दा ट्यांकर असार ८ गते बिहान ३:०३ बजे पार्किङ स्थलबाट बाहिरिएर नोबेल हस्पिटलनर्फ मोडिएको देखिएको थियो। त्यस लगत्तै निगमका कर्मचारी, प्रहरी र ढुवानीकर्ताले खोजी तीव्र पारेका थिए। खोजीका क्रममा विराटनगर डिपोबाट करिब १७ किलोमिटरको दुरीमा रहेको सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्यांकर बेवारिसे र ताला काटिएको अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको रोहबरमा घटनास्थलको मुचुल्का तयार गरी ट्यांकरलाई नियन्त्रणमा लिइएको थियो। थप अनुसन्धानका लागि सुनसरी प्रहरीले मोरङ प्रहरीलाई कागजात बुझाएको छ भने ट्यांकरलाई निगमको पार्किङमा ल्याएर सिल गरी राखिएको थियो।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार र सरोकारवालाको रोहबरमा ट्यांकरको सिल खोलेर गुणस्तर तथा परिमाण आन जाँच गरिएको छ। जाँचका क्रममा पेट्रोलको गुणस्तर ठिक पाइए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। ट्यांकरमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरिएको छ।

निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा भएको कानुनी व्यवस्थाबमोजिम चोरी भएको ९७३ लिटर पेट्रोलको दोब्बर बराबरको रकम ढुवानीकर्ताबाट असुल गरिएको निगमका कोशी प्रादेशिक कार्यालय प्रमुख पुस्कर कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं