काठमाडौं । झाडी छोपिएको घुन्सा स्मृति पार्क र पार्कमा भएका अर्धकदका सालिकको ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको सक्रियतामा सरसफाई गरिएको छ ।
काठमाडौंको नागर्जुन नगरपालिका–७ स्विट्जरल्यान्ड पार्क नजिककै रामकोटमा रहेको उक्त पार्कको शनिबार सरसफाई गरिएको हो ।
२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा डा. हर्क गुरुङलगायत २४ जना संरक्षणविद्को निधन भएको थियो । उनीहरुको सम्झनामा यहाँ पार्क निर्माण गर्दै सबैको अर्धकदको सालिक राखिएको छ ।
सालिकमा लेउ लागेर चिन्न नसकिने अवस्थामा पुगेको र पार्क झाडीले छोपोको खबर सार्वजनिक भएसँगै सरोकार केन्द्रले यसको सरसफाईमा चासो राख्दै उक्त अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको थियो ।
शनिबार विहानै उक्त स्थानमा पुगेर सामुहिक रुपमा पार्कको सफाई गर्नुको साथै सालिकहरु पनि घोटेर सफा पारेको सरोकार केन्द्रका महासचिव अशोक प्यासी राईले जानकारी दिए ।
संरक्षणविद् २४ जना व्यक्तित्वको सम्मान र सम्झनामा निर्मित सो पार्कको संरक्षण र प्रवद्र्धन गर्नुको साथै संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत यो कार्य गरिएको अध्यक्ष बलबहादुर तामाङले बताए । ‘वातावरणीय स्वच्छता, सामुदायिक सहभागीता तथा सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सारोकार केन्द्रको सक्रियतामा उक्त कार्य सम्पन्न भयो,’ उनले भने ।
सरसफाई कार्यक्रममा सरोकार केन्द्रका पदाधिकारी तथा सदस्यसहित पूर्वमन्त्री केशव पोखरेल, नार्गाजुन नगरपालिकाका कार्यबाहक नगरप्रमुख सुशिला अधिकारी र नेपालका लागि बेलायती राजदुत रोब फेनको सहभागिता थियो ।
यस्तै वडाध्यक्ष शैलेन्द्र तामाङ, दिवंगत संरक्षणविदका परिवार, स्थानीयवासी र काठमाडौंमा रहेका ताप्लेजुङ जिल्लावासीको पनि उक्त अभियानमा सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।












