सङ्खुवासभा । कारागार व्यवस्थापन विभागको टोलीले सङ्खुवासभाको जिल्ला कारागारको आइतबार स्थलगत अनुगमन गरेको छ । कारागारको भौतिक अवस्था र कैदी बन्दीको समस्या बुझ्न विभागको टोली सङ्खुवासभा पुगेको हो ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलगायतको टोलीले कारागारको अनुगमन गरी कैदी बन्दी, कारागार प्रशासन तथा भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएको हो ।
अनुगमनका क्रममा कैदीबन्दीले दैनिक जीवनसँग जोडिएका विभिन्न माग राखेका थिए । उनीहरूले नियमित र सहज रूपमा स्वच्छ पिउन पानीको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । यस्तै फोहर मैला तथा ढल व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने र खेलकुदका लागि आवश्यक सामग्रीको प्रबन्ध गर्नुपर्ने उनीहरूको माग थियो ।
उपयुक्त र सुरक्षित स्थानको खोजी गरी कारागार स्थानान्तरण गर्न आवश्यक पहल गरिने कारागार व्यवस्थापन विभागका निर्देशक न्यौपाने बताए । हालको कारागार भवन अत्यन्त साँघुरो र अपर्याप्त रहेको भन्दै फराकिलो क्षेत्रफलमा आधुनिक र सुरक्षित भवन निर्माणको आवश्यकता औँल्याइएको छ ।
कैदीबन्दीले उठाएका समस्यालाई चाँडै सम्बोधन गरिने अनुगमन टोलीले प्रतिबद्धता जनाएको छ । जिल्ला कारागारमा एक आश्रित बालिका, आठ महिलासहित कुल १५९ जना कैदी बन्दी रहेको जिल्ला कारागार खाँदबारीका प्रमुख धनबहादुर श्रेष्ठले जानकारी दिए ।