काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा रहेको एक बारमा भएको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन् ।
प्रारम्भिक विवरणअनुसार बैंककको चतुचक क्षेत्रमा रहेको उक्त मनोरञ्जनस्थलमा आइतबार राति अबेर आगलागी भएको हो । प्रत्यक्षदर्शीहरूले बारको स्टेज नजिकबाट आगो फैलिन सुरु भएको बताएका छन् ।
आगलागी तीव्र रूपमा फैलिएपछि विद्युत् आपूर्ति बन्द गरिएको र भवनभित्र धुवाँ भरिएको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा आगलागीपछि ग्राहकहरू आत्तिँदै बाहिर निस्कने प्रयास गरिरहेको देखिएको छ ।
‘रोङ बियर ना लात फ्राओ’ नामक उक्त बारबाट बाहिरिने क्रममा केही व्यक्तिका कपडामा समेत आगो लागेको दृश्य देखिएको बताइएको छ ।
घटनाको जानकारी पाएपछि मध्यरातपछि पुगेका दमकल टोलीले केही समयको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो । उद्धारका क्रममा अधिकांश मृतकको शव शौचालय क्षेत्रबाट फेला परेको अधिकारीहरूले बताएका छन् । आगलागीबाट जोगिन उनीहरू त्यहाँ लुकेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
बैंककको विपद् व्यवस्थापन निकायले गरेको प्रारम्भिक अध्ययनमा एयर कन्डिसनर प्रणालीमा भएको सम्भावित विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने देखाएको छ । यद्यपि घटनाको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्र पुष्टि हुने जनाइएको छ ।
थाई अधिकारीहरूले घटनाको छानबिन गरी आगलागीको कारण, सुरक्षा व्यवस्था र जिम्मेवार पक्षबारे आवश्यक अध्ययन गरिने बताएका छन् ।