Lite Nepal

बुधबार, आषाढ ३१, २०८३

काठमाडौं । कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद गरेको मल नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको छ। भारतका विभिन्न बन्दरगाहमा पुगेको मललाई आवश्यक प्रक्रिया पूरा गरी क्रमशः नेपाल भित्र्याउने तयारी भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल भारतको विशाखापट्टनम बन्दरगाहमा ३० हजार मेट्रिक टन डीएपी मल र कोलकाता बन्दरगाहमा २७ हजार मेट्रिक टन डीएपी मल पुगेको छ। दुवै स्थानमा मल प्याकिङको काम भइरहेको छ भने विशाखापट्टनमबाट मल रेलमार्फत ढुवानीका लागि पठाइसकिएको छ। कोलकाताबाट पनि छिट्टै लोडिङ प्रक्रिया सुरु हुने जनाइएको छ।

सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत खरिद गरिएको थप डीएपी मल आगामी साउन ३ गते (१९ जुलाई) कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, ३०-३० हजार मेट्रिक टन क्षमताका दुई जहाजमा ल्याइएको युरिया मल साउन १ गते (१७ जुलाई) कोलकाता बन्दरगाहमा पुग्ने कार्यक्रम रहेको छ।

हाल मल वितरणमा संलग्न दुवै कम्पनीसँग रहेको मौज्दात मल कृषि मल वितरण व्यवस्थापन कार्यविधिअनुसार बिक्री भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ। बन्दरगाहमा पुगेका तथा आउने क्रममा रहेका मललाई भन्सार र ढुवानीसम्बन्धी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा देशभर आपूर्ति गरिने जनाइएको छ।

किसानलाई खेतीपातीको समयमा आवश्यक मल उपलब्ध गराउन आपूर्ति व्यवस्थापन, ढुवानी र सम्बन्धित निकायबीचको समन्वयलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयको स्वकीय सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं