Lite Nepal

आइतबार, साउन ०३, २०८३

काठमाडौँ । फ्रान्सलाई ६-४ गोलले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ मा तेस्रो भएको छ। अमेरिकाको मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा इंग्ल्यान्डले जित निकाल्दै कांस्य पदक प्राप्त गरेको हो।

इंग्ल्यान्डको जितमा बुकायो साकाले ह्याट्रिक गरे। डेक्लान राइस, एज्री कोन्सा र जुड बेलिङ्घमले एक-एक गोल थपे। फ्रान्सका लागि कप्तान किलियन एमबाप्पेले दुई तथा ब्राडली बारकोला र उस्मान डेम्बेलेले एक-एक गोल गरे।

खेलको तेस्रो मिनेटमै राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि १८औँ मिनेटमा कोन्साले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।

साकाले ३७औँ मिनेटमा इंग्ल्यान्डका लागि तेस्रो गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल थपेपछि इंग्ल्यान्ड मध्यान्तरसम्म ४-० ले अगाडि रह्यो।

दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्काउँदै खेलमा पुनरागमनको प्रयास गर्‍यो। एमबाप्पेले ४८औँ मिनेटमा फ्रान्सका लागि पहिलो गोल गरे भने बारकोलाले ५४औँ मिनेटमा अर्को गोल थपे।

एमबाप्पेले ६७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले अन्तर ४-३ मा झार्‍यो। उक्त गोलसँगै एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बने।

फ्रान्सले लगातार दबाब बढाए पनि ८७औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो। साकाले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुका साथै इंग्ल्यान्डलाई ५-३ को अग्रता दिलाए।

दोस्रो हाफको इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई पुन: खेलमा फर्काउने प्रयास गरे। तर, त्यसलगत्तै बेलिङ्घमले गोल गरेपछि इंग्ल्यान्डले ६-४ को जित सुनिश्चित गर्‍यो।

इंग्ल्यान्डले विश्वकपमा तेस्रो स्थान हासिल गरेको यो पहिलो अवसर हो। सन् १९६६ मा उपाधि जितेपछि यो विश्वकपमा इंग्ल्यान्डको उत्कृष्ट नतिजासमेत हो। इंग्ल्यान्ड यसअघि सन् १९९० र २०१८ मा चौथो भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं