काठमाडौं । लगातारको मनसुनी वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सबै निकायलाई निर्देशन दिएको छ।
पूर्वी तथा मध्य नेपालका नदी–नालामा जलसतह तीव्र रूपमा बढ्ने सम्भावना रहेकाले कोशी ब्यारेजका थप ढोका खोल्ने तयारी गरिएको छ भने २१ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कोशी, नारायणी, बागमती, कमला, कन्काई, अरुण, तमोर, सुनकोशीलगायत नदीमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको सूचनाको पालना गर्न आग्रह गरिएको छ।
सुनसरी–सप्तरीस्थित कोशी ब्यारेजमा पानीको बहाव बढ्दै गएपछि आवश्यकताअनुसार थप स्लुइस गेट खोल्ने तयारी गरिएको छ। ब्यारेज सञ्चालनमा रहेका निकायले नदीको बहाव निरन्तर निगरानी गरिरहेका छन्।
विगतमा अत्यधिक बहाव हुँदा सबै ५६ वटा ढोका खोल्नुपरेको अनुभव रहेकाले यसपटक पनि जोखिम व्यवस्थापनमा विशेष सतर्कता अपनाइएको जनाइएको छ। उच्च जोखिममा रहेका जिल्लामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्ला समावेश छन्।
ती क्षेत्रमा आकस्मिक बाढी, पहिरो, सडक अवरोध र डुबानको सम्भावना उच्च रहेको भन्दै स्थानीय तह, सुरक्षा निकाय र उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणले नागरिकलाई नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा होचा भूभागमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र आपत्कालीन अवस्थाका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको छ।
यसैबीच, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा उद्धार टोलीलाई सम्भावित विपद्को तत्काल प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ भने प्रभावित हुन सक्ने क्षेत्रमा राहत सामग्रीसमेत पूर्वभण्डारण गरिएको प्राधिकरणले जनाएको छ। मौसमविद्हरूले आगामी २४–४८ घण्टा विशेष सतर्क रहनुपर्ने बताएका छन्।