काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् । मंगलवार बिहान कार्यालय समय सुरु भएपछि मन्त्री यादव विभागमा पुगेका हुन् ।
अनुगमनको क्रममा मन्त्री यादवलाई विभागको कामकारबाहीबारे महानिर्देशक मिरा आचार्यले जानकारी गराएकी छन् । मन्त्री यादवले कर्मचारीहरूबाट कामबारे जानकारी लिँदै केही पीडितहरूका गुनासा र समस्या पनि सुनेका छन् ।
पीडितहरूले पक्राउ पुर्जी जारी भएका व्यक्ति खुलेआम हिँडडुल गरिरहँदा पनि सम्बन्धित जिल्लाका प्रहरीहरूले पक्राउ नगरेको गुनासो मन्त्रीसमक्ष गरेका थिए ।
त्यसपछि मन्त्री यादवले पक्राउ गरेर उपस्थित गराउन सम्बन्धित जिल्लाका प्रहरीहरूलाई भन्न कर्मचारीहरूलाई निर्देशन दिए ।