काठमाडौं । सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको थियो ।
राष्ट्र बैंकलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन सरकारले भनेको थियो ।
राष्ट्र बैंक ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नयाँ सिक्कामा नेपालको नक्सा नहट्ने जानकारी आफूलाई रहेको बताए ।
यो परिवर्तन गरेसँगै मूल्यमा कमी आउने र वातावरणीय हिसाबले पनि उत्कृष्ट मानिने उनले बताए ।
सिक्कामा ६४ वटा थोप्ला हुन्छन्, जुन ६४ योगिनीको प्रतिक मानिन्छ । विगतमा पनि सरकारले नयाँ सिक्का बनाउँदा केही कुराहरू परिमार्जन गर्ने गरेको उनी स्मरण गर्छन् ।
यद्यपि स्पष्ट अर्थ राख्ने रणनीतिक नीति भने सरकारले लिएको निर्णयमा भर पर्ने उनी बताउँछन् ।