Lite Nepal

मंगलबार, साउन १२, २०८३

काठमाडौं । सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्तामार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै कथावाचिका राधिका दासीले गम्भीर आपत्ति जनाएकी छन् । आफूविरुद्ध लागेका अनर्गल आरोपहरूको खण्डन गर्दै उनले एक प्रेस वक्तव्य जारी गरी निष्पक्ष कानुनी अनुसन्धान र न्यायको माग गरेकी हुन् ।

सामाजिक सञ्जालमा अभियन्ता दाबी गर्ने विराटनगरकी २२ वर्षीया वेदिका केसीले एक युट्युब अन्तर्वार्तामार्फत राधिका दासीको व्यक्तिगत चरित्रमाथि गम्भीर लाञ्छना लगाएपछि यो विवाद बाहिर आएको हो ।

दासीले आफ्नो वक्तव्यमा वर्षौंदेखि सनातन हिन्दु धर्मको सेवा, आध्यात्मिक साधना र समाजमा नैतिक मूल्य फैलाउने कार्यमा समर्पित आफ्नो सामाजिक प्रतिष्ठा, व्यक्तिगत जीवन र धार्मिक पहिचानमाथि प्रहार भएकोमा गहिरो दुःख व्यक्त गरेकी छन् ।

उनले महिलाको आत्मसम्मान र चरित्रमाथि आक्षेप लगाउनु सभ्य समाजको पहिचान नभएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको प्रतिष्ठा नष्ट गर्ने अधिकार कसैसँग नहुने स्पष्ट पारेकी छन् । बदला वा प्रतिशोधका लागि नभई आफ्नो मानमर्दन रोक्न र सत्य स्थापित गर्न आफूले कानुनी बाटो रोजेर प्रहरीमा जाहेरी दिएको उनको भनाइ छ ।

न्यायको खोजीमा राज्यका सम्बन्धित निकाय धाउँदा भोग्नुपरेको उदासीनताप्रति पनि दासीले गुनासो पोखेकी छन् । उनले आफ्नो पीडा प्रत्यक्ष राख्नका लागि गृहमन्त्रीसँग भेट्ने प्रयास गरे पनि लामो समय प्रतीक्षा गर्दा समेत भेट्ने अवसर नपाएको र आँखा अगाडि नै बेवास्ता गरिएको अनुभवले आफूलाई अत्यन्तै दुःखी बनाएको बताएकी छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी र साइबर ब्युरोसँग अनुसन्धान प्रक्रियामा कुनै पनि अनुचित प्रभाव र हस्तक्षेप हुन नदिन तथा घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेकी छन् ।

यसैबिच, कथावाचिका दासीलाई व्यक्तिगत रूपमा लाञ्छना लगाएको आरोपमा प्रहरीको साइबर ब्युरोले वेदिका केसी विरुद्ध अनुसन्धान सुरु गरिसकेको छ । साइबर ब्युरो अनुसार केसीलाई हिरासतमा नराखी हाजिर जमानीमा राखेर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं