काठमाडौं । सार्वजनिक खरिद ऐनमा गरिएको पछिल्लो संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संशोधित कानुनी व्यवस्थालाई चुनौती दिँदै सर्वोच्चमा पूरक रिट निवेदन दर्ता गराएका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिएका छन्।
रिट निवेदकहरूले संशोधनमार्फत सार्वजनिक खरिदसम्बन्धी टेन्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने पुरानो व्यवस्था हटाइएको भन्दै त्यसले सञ्चार क्षेत्रलाई समेत असर पार्न सक्ने दाबी गरेका छन्।
उनीहरूले कानुनी परिवर्तनका कारण सञ्चारमाध्यमको आर्थिक स्थायित्वमा प्रतिकूल प्रभाव पर्न सक्ने तथा सार्वजनिक सूचना प्रवाहको व्यवस्थामाथि समेत प्रश्न उठेको जिकिर गरेका छन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटमा उठाइएका संवैधानिक विषयमाथि अब संवैधानिक इजलासबाट सुनुवाइ हुनेछ।