Lite Nepal

मंगलबार, साउन १२, २०८३

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

मंगलबार दिउँसो एक आदेश जारी गरी प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले अहिले दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् ।

सूचनाअनुसार पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यूको चार किल्ला तोकिएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि सुनसरीमा तनावको अवस्था छ । आइतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए ।

यसअघि घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू उल्लङ्घन गर्दै सोमबार दिनभर प्रदर्शन पनि भएका थिए ।

ती क्षेत्रमा मंगलबार पनि कर्फ्यू मंगलबार पनि यथावत् छ ।

जिल्ला प्रशासनको सूचना अनुसार आज पनि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ । हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यू जारी छ ।

हरिनगरा बजार क्षेत्रमा पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यू छ ।

भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यू कायम छ ।

कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यू जारी छ ।

घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यू छ ।

देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला र उत्तरमा चिउरा मिलसम्म पनि कर्फ्यू जारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं