विराटनगर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्ने व्यवसायलाई अनिवार्य रूपमा विद्युतीय व्यापार (ई–कमर्स) पोर्टलमा सूचीकृत हुन निर्देशन दिएको छ।
विभागले जारी गरेको सूचनामा वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी वस्तु वा सेवा बिक्री गर्ने व्यवसायले प्रचलित कानुनअनुसार आफ्नो विवरण दर्ता तथा सूचीकृत गर्नुपर्ने उल्लेख छ।
सूचनाअनुसार विद्युतीय व्यापार ऐन, २०८१ तथा सम्बन्धित कानुनी व्यवस्थाबमोजिम ई–कमर्स व्यवसाय सञ्चालन गर्न विभागको पोर्टलमा सूचीकृत हुनुपर्नेछ। विशेषगरी सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत व्यापार गर्ने व्यवसायीसमेत यस व्यवस्थाको दायरामा पर्ने विभागले जनाएको छ।
विभागले विद्युतीय माध्यमबाट व्यापार गर्दा उपभोक्ताको हकहित, वस्तु तथा सेवाको गुणस्तर, मूल्य, व्यवसायीको पहिचान तथा कारोबारको पारदर्शितामा ध्यान दिनुपर्ने जनाएको छ। उपभोक्तालाई भ्रममा पार्ने, गलत विवरण दिने वा कानुनी प्रक्रिया पूरा नगरी विद्युतीय माध्यमबाट व्यापार गर्ने कार्यलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको विभागको भनाइ छ।
विभागले तोकिएको कानुनी प्रक्रिया पूरा नगरी ई–कमर्स व्यवसाय सञ्चालन गर्ने व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ। त्यसैले अनलाइन तथा सामाजिक सञ्जालमार्फत कारोबार गर्दै आएका व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरी कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न विभागले आग्रह गरेको छ।
