खोटाङ । किरात पहिरनमा सजिएकी कन्या हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी हुन्छिन् । पाहुना उनको अगाडि पुग्नेबित्तिकै किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा थमाएर स्वागत गर्छिन् ।
जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित निगालावासका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक होमस्टे’मा पुग्ने पाहुनाले पाउने स्वागतको यो सामान्य दृश्य हो । निगालावासका ११ घर पुमा राई मिलेर विसं २०८१ माघ १५ गतेदेखि होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
गाउँपालिकामा आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन गरिएको होमस्टे छोटो समयमै पाहुनाको आकर्षणको केन्द्र बनेको छ । गाउँपालिकाको केन्द्र चिसापानी बजार पुगेका आन्तरिक तथा बाह्य पर्यटक एक रात पुमा सामुदायिक होमस्टेमा बसेर स्थानीय संस्कृति, परिकार र प्राकृतिक सौन्दर्यको आनन्द लिने गरेका छन् ।
होमस्टेमा पाइने स्थानीय परिकार र पुमा राई समुदायको सांस्कृतिक झाँकी पर्यटकका प्रमुख आकर्षण हुन् । पाहुनाका लागि खाजामा कोदो तथा फापरको रोटी, उसिनेको मकै र भुटेको मकै–भटमास उपलब्ध गराइन्छ ।
खानामा कोदोको ढिँडो, मकैको भात, जौको भात, सिस्नो तथा स्थानीय जातका कुखुरा, बङ्गुर र राँगाको मासु उपलब्ध हुन्छ । ढिँडो र कुखुराको मासुका लागि प्रतिव्यक्ति रु ३०० तथा बङ्गुर र राँगाको मासुका लागि रु २५० लिने गरिएको सञ्चालकले बताएका छन् । मकैको भात र सिस्नोको रु २०० तथा खाजाको रु १०० शुल्क तोकिएको छ । स्थानीय पेयपदार्थसमेत उपलब्ध गराइन्छ ।
होमस्टे सञ्चालक समितिका अध्यक्ष मञ्जुकुमारी राईले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको सचिव दीपक राईले जानकारी दिए । उक्त जग्गामा पाहुना सत्कार घर निर्माण गर्ने योजना रहेको उनले बताए ।
“अध्यक्षले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा पाहुना सत्कार घर निर्माण गर्ने योजना बनाएका छौँ । गाउँपालिकाको सहयोगमा शौचालय र बाथरुम निर्माण गरिसकिएको छ,” उनले भने, “भवन निर्माणका लागि गाउँपालिकाले रु आठ लाख ९० हजार उपलब्ध गराएको छ । पहिलो तलामा सङ्ग्रहालयसहितको पाहुना सत्कार कक्ष र माथिल्लो तलामा बास बस्ने ठाउँ बनाउने योजना छ ।”
होमस्टे सञ्चालनका लागि स्थानीयलाई गाउँपालिकाले तीन वर्षअघि आवश्यक तालिमसमेत दिएको थियो । होमस्टेको मापदण्ड, पाहुनालाई आकर्षित गर्ने व्यवहार, सरसफाइ र सुरक्षाका विषयमा सञ्चालकलाई तालिम दिइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिइन् ।
गाउँपालिकाले होमस्टे सञ्चालकलाई उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडुवामा थारु समुदायले सञ्चालन गरेको बहेडुवा सामुदायिक होमस्टे तथा धनकुटाको साँगुरीगढी गाउँपालिकामा मगर समुदायले सञ्चालन गरेको नाम्जे–थुम्की सामुदायिक होमस्टेको अवलोकन भ्रमणसमेत गराएको थियो । त्यसपछि निगालावासको पुमा सामुदायिक होमस्टे पछिल्लो समय अध्ययन र अवलोकनको थलोसमेत बन्दै गएको छ ।
स्थानीयलाई आम्दानीको स्रोतसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निगालावासमा होमस्टे सञ्चालन गर्न सहयोग गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले बताइन् ।
“हाम्रो गाउँपालिकामा धेरै पर्यटकीयस्थल छन् । यहाँ आउने पर्यटकलाई खाने तथा बस्ने व्यवस्था मिलाउनका लागि पनि निगालावासमा होमस्टे सञ्चालन गरिएको हो,” उनले भनिन्, “गाउँपालिकाको सहयोगमा सञ्चालित पुमा सामुदायिक होमस्टेले छोटो समयमै राम्रो उपलब्धि गरेको छ । यसलाई समयसापेक्ष बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्छ ।”
होमस्टेमा विशेषगरी जन्तेढुङ्गा, होङ्मा पोखरी र भञ्ज्याङखर्क घुम्न आउने पर्यटक बस्ने गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र वडा नं ६ दिप्लुङको सीमामा रहेको जन्तेढुङ्गासँग जन्ती लोप (अलप) भएको किंवदन्ती जोडिएको छ ।
पर्यटकीयस्थलदेखि पुमा सामुदायिक होमस्टेसम्मको सडकमार्ग सहज भएकाले पनि पाहुनाको आकर्षण बढेको सञ्चालकको भनाइ छ । अधिकांश पाहुना आफ्नै गाडी तथा मोटरसाइकल लिएर होमस्टेमा बास बस्न आउने गरेका छन् ।
पर्यटनका लागि सम्भावनायुक्त जन्तेढुङ्गा गाउँपालिकामा जन्तेढुङ्गा, भञ्ज्याङखर्क, चण्डीथान र भानुमतीलगायत रमणीय स्थल छन् । विभिन्न जातजातिले आफ्नै धर्म र संस्कृतिअनुसार चाडपर्व मनाउने यस क्षेत्रमा साकेला, दसैँ, तिहार र तीजको विशेष महत्त्व छ ।
खोटाङको दक्षिणी भेगमा अवस्थित जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिणमा पर्छ । गाउँपालिकाको पूर्वमा भोजपुरको आमचोक गाउँपालिका, दक्षिणमा उदयपुरको चौदण्डीगढी नगरपालिका, पश्चिममा खोटाङकै बराहपोखरी गाउँपालिका र उत्तरमा खोटेहाङ गाउँपालिका रहेका छन् ।