काठमाडौँ । बजारमा अन्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अन्डाको समर्थन मूल्य बढाएको हो।
चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। त्यस्तै, ठूलो अन्डाको मूल्य ५७५ रुपैयाँ र मिडियम आकारको अन्डाको मूल्य ५३५ रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ तोकिएको छ।
संघले यसपटक अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो। यसअघि ३० साउनदेखि एक्सएल अन्डाको ५७५ रुपैयाँ, ठूलोको ५६० रुपैयाँ र मिडियमको ५२० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो।
साउनयता अन्डाको मूल्यमा भएको यो पाँचौँ संशोधन हो। साउनको सुरुवातमा एक्सएल अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ रहेकोमा महिनाको अन्त्यसम्ममा बढेर ५७५ रुपैयाँ पुगेको थियो। भदौ सुरु भएसँगै थप १५ रुपैयाँ वृद्धि भएपछि यसको मूल्य ५९० रुपैयाँ कायम भएको हो।
व्यवसायीहरूका अनुसार उत्पादन घटेका कारण अन्डाको आपूर्ति र मागबीच असन्तुलन बढेको छ। बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डा उत्पादनमा उल्लेख्य कमी आएको उनीहरूको दाबी छ।
उत्पादनमा आएको कमीका कारण बजारको मागअनुसार अन्डा आपूर्ति गर्न कठिन भएको र त्यसकै प्रभावस्वरूप समर्थन मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।