म्याग्दी । म्याग्दीबाट आर्थिक वर्ष २०८२/८३ मा ७३ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार ४० करोड रुपैयाँको आलु र ३३ करोड ८६ लाख रुपैयाँको सुन्तला बिक्री भएको हो ।
सो अवधिमा चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले बताए । असिना कारण आलु उत्पादनमा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ ।
म्याग्दीका आलु र सुन्तला बेनी, पोखरा, काठमाडौं र चितवनका बजारमा बिक्री हुने गरेका छन् । जिल्लामा आलु तथा सुन्तलाखेती विस्तारका लागि तीनै तहका सरकारले विभिन्न अनुदान तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
किसानहरूले भने बजार व्यवस्थापन, बाँदरको समस्या, सिँचाइ अभाव, गुणस्तरीय बीउबिजनको कमी र जनशक्ति अभाव समाधान गर्न सरकारसँग माग गरेका छन् । चालु आर्थिक वर्षमा कृषि विकास कार्यालयले फलफूल बगैँचा सुदृढीकरण, खायन आलु प्रवर्द्धन, जलवायुमैत्री कृषि प्रविधि, कृषि पर्यटन तथा निर्यातजन्य कृषि वस्तु प्रवर्द्धनलगायत कार्यक्रमलाई प्राथमिकता दिएको छ ।