काठमाडौँ ।पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’मा ५ हजार ५५७ वटा गुनासा प्राप्त भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिइएको हो।
प्राप्त गुनासामध्ये २ हजार ३७९ वटा पोर्टलमार्फत प्राप्त भएका छन् भने १ हजार ७२७ वटा गुनासा सम्बन्धित निकायमा पठाइएको छ। त्यस्तै, पोर्टलमार्फत प्राप्त गुनासामध्ये २ हजार ५० वटा समाधान भइसकेको कार्यालयले जनाएको छ। हाल ७५४ वटा गुनासा प्रक्रियामा रहेका छन्।
त्यसैगरी, पछिल्लो एक सातामा ‘हेलो सरकार’मा ३ हजार १७८ वटा फोन उठाइएको र तीमध्ये २ हजार १७७ वटा समस्या फोनमार्फत नै समाधान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।