काठमाडौँ । बितेका चार महिनामा देशभर पाँच हजारभन्दा बढी विपद्का घटना भएका छन्। ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका हुन्। विपद्बाट उक्त अवधिमा छ हजार २७२ परिवार प्रभावित भएका छन्।
यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार १३६ घटना भएका छन्। त्यस्तै, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, बाढीका २७३, भारी वर्षाका ३२० र चट्याङका २४५ घटना भएका छन्।

प्राधिकरणका अनुसार भदौ ५ गते बिहान ११ बजेसम्म अद्यावधिक विवरणमा जनावरको आक्रमणका २७२, वन डढेलोका १९१, लेक लाग्ने ५९, भूकम्पका चार, असिनाका चार, हिमपहिरोका दुई तथा डुङ्गा पल्टिने र विस्फोटनका एक–एक घटना भएका छन्।
यस्तै, भदौ ४ गतेदेखि ५ गते बिहान ८ बजेसम्म देशका विभिन्न भागमा ३३ वटा विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार उक्त अवधिमा विपद्का कारण अनुमानित नौ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने दुई स्थानमा सडक अवरुद्ध भएको छ।