Lite Nepal

आइतबार, भाद्र ०७, २०८३

विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरमा लामो समयदेखि देखिँदै आएको लोभोल्टेज, बारम्बार हुने ट्रिपिङ तथा विद्युत आपूर्तिको समस्या समाधान गर्न उद्योगी व्यवसायीले सरकारसँग १५ बुँदे माग राखेका छन्।

मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ समक्ष १५ बुँदे ज्ञापनपत्र बुझाउँदै औद्योगिक क्षेत्रमा भरपर्दो र नियमित विद्युत आपूर्तिको व्यवस्था गर्न माग गरेका हुन्। संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको टोलीले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा नियमित र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न, वर्षौंदेखि अलपत्र रहेको बुर्जु र केरौन सबस्टेसन निर्माण तत्काल सम्पन्न गर्न तथा कटहरी औद्योगिक क्षेत्रको प्रसारण क्षमता बढाउन माग गरिएको छ। त्यस्तै, नयाँ बजेटमार्फत विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा खारेज गर्न उद्योगीले माग गरेका छन्।

स्वदेशी उत्पादनको लागत घटाई उद्योगलाई प्रतिस्पर्धी बनाउन उत्पादनमूलक उद्योगको डिमान्ड शुल्कमा कटौती गर्नुपर्ने र वर्षायाममा भारत निर्यात गरिने सरहकै सहुलियतपूर्ण दरमा स्वदेशी उद्योगलाई विद्युत उपलब्ध गराउनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ।

उद्योगीहरूले ५ देखि ५० मेगावाटसम्म आन्तरिक खपतका लागि जलविद्युत आयोजना निर्माण गर्न सहज अनुमति दिनुपर्ने माग गरेका छन्। कम्तीमा १०० करोड रुपैयाँ चुक्ता पुँजी भएका सक्षम कम्पनीलाई पुँजीगत सबलताका आधारमा लाइसेन्स दिने व्यवस्था गर्न तथा लामो समयदेखि काम नगरी अनुमति ओगटेर बसेका आयोजनाको अनुमति तत्काल खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ।

त्यस्तै, पारदर्शी लिलामी प्रणाली लागू गर्न, उद्योगले आफ्नै ट्रान्सफर्मरको नो(लोड परीक्षण गर्नुपर्ने अनिवार्य व्यवस्था हटाउन तथा विद्युत कटौतीको पूर्वसूचना अनिवार्य गर्न माग गरिएको छ। उद्योगीले कन्डक्टर र केबलको गुणस्तर परीक्षणलाई अनिवार्य बनाई विद्युतको गुणस्तर सुधार गर्नुपर्नेमा समेत जोड दिएका छन्।

ज्ञापनपत्र बुझाउने क्रममा ऊर्जा मन्त्री श्रेष्ठले निजी क्षेत्रको प्रोत्साहन तथा उद्योगको उत्पादन लागत घटाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए। उनले मोरङ–सुनसरी क्षेत्रमा निर्माणाधीन सबस्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति भरपर्दो हुने विश्वास दिलाउँदै उद्योग स्थापनाअघि नै विद्युत पूर्वाधारको जानकारी दिने प्रणाली विकास तथा आन्तरिक खपतबाट अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता जनाएका थिए।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघ र संगठनका पदाधिकारी तथा उद्योगी व्यवसायीको सहभागिता थियो। संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, उपाध्यक्ष अनिल सारडा तथा संगठनका तर्फबाट निवर्तमान अध्यक्ष राकेश सुराना सहभागी थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं