काठमाडौं । ट्राफिक नियमको आधारभूत कुरा नबुझ्नेलाई हदै सम्मको कारबाहीको विकल्प नरहेको पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले बताएका छन् ।
काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार ड्युटीमा खटिएकी ट्राफिक प्रहरीमाथि हातपात भएको घटनाप्रति लक्षित गर्दै खापुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जेब्रा क्रस, आकाशे पुल, हेलमेट, सिट बेल्ट, सडक बत्ती जस्ता आधारभूत कुरा नबुझ्ने असभ्य जमातलाई हदैसम्म कारबाही बाहेक विकल्प छैन ।’
सडकमा जथाभाबी बाटो काटिरहेका पैदल यात्रीलाई आकाशे पुल प्रयोग गर्न आग्रह गर्ने क्रममा विवाद भएपछि जुम्ला घर भएका २७ वर्षीय राज कठायतले ड्युटीमा खटिएका महिला तथा पुरुष प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न कठायत पक्राउ परेका छन् ।

कठायतलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिनको म्याद दिएको छ । कठायत हाल काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कठायतमाथि राष्ट्रसेवकलाई काममा बाधा पुर्याएको तथा अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।