चितवन । बाढीमा परी मृत्यु भएका व्यक्तिको कानबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तिब्बतबाट भीषण पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा भिडियोमा देखिएका व्यक्तिहरूलाई बिहीबार भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिइएको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।
प्रहरीका अनुसार मृतकको शरीरबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियोका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
