काठमाडौं । पहिरोका कारण बनेको तालबाट थप बाढी आउन सक्ने जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ।
अलजजिराले चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार, चिनियाँ अधिकारीहरूले उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न आदेश दिएका छन्। विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रमा अझै सयौँ मानिस बेपत्ता रहेको बताइएको छ।

चीन–नेपाल सीमामा पहिरोपछि थुप्रिएको ठूलो मात्राको भग्नावशेष र लेदोका कारण बनेको ताल भरिन थालेपछि पानी उद्धार टोली परिचालित क्षेत्रतर्फ बग्न थालेको चिनियाँ सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।
‘सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ,’ सीसीटीभीले जनाएको छ।
यसअघि घटनास्थलमा पुगेका आपत्कालीन टोलीलाई समेत एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको सीसीटीभीले जनाएको छ।
बुधबार तिब्बतको चीन–नेपाल सीमावर्ती केन्द्र केरुङमा माटो र भग्नावशेषसहितको ठूलो पहिरो खसेपछि उक्त ताल बनेको थियो। पहिरोमा परी सयौँ मानिस बेपत्ता भएको खबर छ।
सीसीटीभीका अनुसार निरन्तर वर्षाका कारण आगामी तीन दिनसम्म तालको जलस्तर बढ्ने र सेप्टेम्बर १ ९भदौ १६० आसपासमा उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार तालको जलस्तर बढ्दै जाँदा ताल फुट्ने जोखिमसमेत बढेको छ। ताल फुटेमा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने र केरुङ बन्दरगाहसहित तल्लो तटीय क्षेत्रमा थप क्षति पुर्याउन सक्ने सम्भावना रहेको जनाइएको छ।
आपत्कालीन इन्जिनियरिङ टोलीहरूले तालको अवस्था र जलस्तरमा निरन्तर निगरानी गरिरहेको सीसीटीभीले जनाएको छ।
शुक्रबारसम्म प्रकोप प्रभावित क्षेत्रबाट ४९९ चिनियाँ नागरिक र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको सीसीटीभीले जनाएको छ।
यसैबीच, उद्धारकर्मीहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्। एएफपीका अनुसार उनीहरूले ड्रोनमार्फत थ्रीडी मोडलिङ, थर्मल इमेजिङ प्रविधि तथा प्रत्यक्ष खोजी विधिको प्रयोग गरिरहेका छन्।