सुनसरी । बराहक्षेत्र नगरपालिका–९ का किसान भीष्म अधिकारीले माछापालनबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। १० कट्ठा क्षेत्रफलबाट सुरु गरेको माछापालन व्यवसाय विस्तार गर्दै अहिले १६ बिघामा पुर्याएपछि उनले उक्त आम्दानी गर्न थालेका हुन्।
अधिकारीले माछाका भुरा, दाना, कर्मचारीलगायत खर्च कटाएर वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताए। उनले विसं २०५२ मा १० कट्ठा क्षेत्रफलबाट माछापालन सुरु गरेका थिए। हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आएका छन्।

उनले रौ, नैनी, भाकुर, कमन, ग्रासलगायत सात प्रजातिका माछा उत्पादन गर्दै आएका छन्। पोखरीमा उत्पादित माछा सुनसरीका इनरुवा, लौकही, कालाबञ्जर, इटहरी, झुम्कालगायत बजारमा बिक्री हुने गरेको छ। अधिकांश व्यापारी पोखरीमै आएर माछा खरिद गरी लैजाने गरेका छन्। पोखरीबाट प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्ममा माछा बिक्री हुने गरेको अधिकारीले बताए।
उनका अनुसार करिब दुई किलो दाना खुवाउँदा एक किलो माछा उत्पादन हुन्छ। माछाको दाना प्रतिकिलो १६० देखि १७० रुपैयाँसम्म पर्ने गरेको छ। माछाका भुरा भने उनले निजी फार्मबाट खरिद गर्ने गरेका छन्। भुराको मूल्य प्रतिकिलो ५०० देखि ५५० रुपैयाँसम्म पर्ने गरेको उनले बताए।
कोशी प्रदेशमा सरकारी माछा भुरा उत्पादन फार्म नहुँदा सरकारी निकायबाट भुरा उपलब्ध हुन नसकेको अधिकारीको भनाइ छ। सरकारले माछापालनका लागि आवश्यक भुरा र दाना सहज रूपमा उपलब्ध गराउन सके किसानलाई थप प्रोत्साहन मिल्नुका साथै उत्पादनसमेत बढाउन सकिने उनले बताए।
विशेषगरी बराहक्षेत्र नगरपालिका–८, ९ र ११ मा माछापालक किसानको संख्या बढ्दै गएको छ। अधिकारीका अनुसार नगरपालिकामा करिब ३०० घरधुरीले माछापालन गर्दै आएका छन् भने एक हजार ३०० भन्दा बढी पोखरी रहेका छन्।
अधिकारीले कोशी नदी किनारको क्षेत्रलाई कृषि पर्यटन ९एग्रो टुरिजम० सँग जोडेर माछापालन व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएका छन्। माछापालनसँगै पोखरी क्षेत्रलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय उत्पादनको बजारीकरण, रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सकिने उनको भनाइ छ।