Lite Nepal

आइतबार, भाद्र १४, २०८३

काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्न चीनले ५० टन आपत्कालीन राहत सामग्रीसहित चार जना सुरुङ उद्धार विज्ञ नेपाल पठाएको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० ठूला सैन्य परिवहन विमान राहत सामग्री लिएर आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विज्ञसहित उद्धारका लागि आवश्यक उपकरणसमेत ल्याइएको छ।

विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए। सो अवसरमा नेपाल आएका चिनियाँ उद्धार विज्ञको टोलीलाई स्वागतसमेत गरिएको थियो।

चीनको छेङ्दु श्वाङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन्।

चीनले उपलब्ध गराएको राहत सामग्रीमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, तयारी खाद्य सामग्री र प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान सामग्री रहेका छन्। ती सामग्रीको कुल तौल ५० टन रहेको जनाइएको छ।

भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी छ। बाढी र लेदोका कारण प्रभावित सुरुङ तथा अन्य कठिन क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भइरहेका बेला चीनबाट सुरुङ उद्धारसम्बन्धी विज्ञ र आवश्यक उपकरण नेपाल ल्याइएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं