विराटनगर । उदयपुरको कटारी नगरपालिका–६, बाँकेटारस्थित शान्तिवनबाट प्रहरीले १ हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले सोमबार बिहान करिब ४ बजे उक्त वन क्षेत्रमा खोजतलास गरेको थियो।

खोजतलासका क्रममा प्रहरीले बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा गाडीनजिकै जंगलका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका ५२ बोरा गाँजा फेला पारेको हो।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–१, डाँडागाउँका अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र अन्दाजी ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन्।
प्रहरीले उनीहरूलाई गाँजा र बोलेरो गाडीसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।