Lite Nepal

मंगलबार, भाद्र १६, २०८३
फाइल फोटो

विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत व्यवस्थापन तथा नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीले ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा नागरिकको खोजी तथा उद्धारसँगै सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको हो।

परिचालित प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना छन्।

त्यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र अन्य प्रहरी युनिटबाट २२२ जना परिचालन भएका छन्।

२४ घण्टा विपद् समन्वय केन्द्र सञ्चालन

विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ।

विपद्सम्बन्धी कार्य तथा तथ्यांक व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४ सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ पनि गठन गरिएको प्रहरीले जनाएको छ।

घाइतेको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न विभिन्न अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोकल डेस्क स्थापना गरिएको छ। वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३, काठमाडौं मेडिकल कलेजमा ५ तथा त्रिभुवन शिक्षण अस्पतालमा ६२ जना प्रहरी परिचालन गरिएको छ। विमानस्थलमा प्रहरी उपरीक्षकको नेतृत्वमा ८ जनाको टोली खटाइएको छ।

ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म प्रयोग

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन प्रविधिको समेत प्रयोग गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा १२ वटा ड्रोन परिचालन गरी दुर्गम तथा पैदल पुग्न कठिन क्षेत्रमा निगरानी र खोजी भइरहेको छ।

खोजी कार्यका लागि ५ वटा तालिमप्राप्त कुकुर तथा सञ्चार सम्पर्क कठिन भएका क्षेत्रमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।

घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन गरिएको छ। शवको डीएनए लगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

शवबाट गहना निकाल्ने दुई जना पक्राउ

बाढीपछि चोरी, लुटपाट तथा ठगीका घटना नियन्त्रणमा समेत प्रहरीले कडाइ गरेको छ। नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनका मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी चितवन मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ।

त्यस्तै, धादिङको गल्छी–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको बैंकको सेफ तोडेर नगद रकम हिनामिना गरेको आरोपमा २९ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

बाढीपीडितका नाममा नक्कली फेसबुक पोस्ट बनाएर रकम असुल गर्न खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२, ठोसे बजारका ३२ वर्षीय सृजन कार्की पनि पक्राउ परेका छन्।

यसैबीच, गल्छी–६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा एउटा बन्द सेफ फेला परेको छ। उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ। मलेखु–त्रिशूली नदीको बगरमा समेत अर्को सेफ फेला परेको प्रहरीले जनाएको छ।

नारायणी आसपास ७५७ प्रहरी परिचालन

बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ झर्दै गएको अवस्थामा सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। चितवनको नारायणी नदी आसपासमा मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ।

प्रहरीले प्रभावित क्षेत्रमा भौतिक अवरोध हटाउने, उद्धार तथा राहत वितरणमा सहजीकरण गर्ने र जोखिममा रहेका नागरिकको सुरक्षा गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ। प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन तथा सुरक्षा निकाय र स्थानीय प्रशासनले दिएको निर्देशन पालना गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं