काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार आज बिहान ८ बजेसम्म बाढीमा परी १ हजार १२७ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्।

यस्तै, बाढी प्रभावित क्षेत्रमा ४२७ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। प्रहरीले ९११ शवको पहिचान अझै खुल्न नसकेको जनाएको छ।
बाढीमा परी बेपत्ता हुनेको संख्या पनि ठूलो रहेको छ। प्रहरीको तथ्याङ्कअनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्। यसैगरी, १ हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ। बाढीपछि नेपाली सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।