विराटनगर । दिव्य ज्योति आँखा अस्पतालले ६० किलो गाँजा बरामद भएको भ्यान आफ्नो नभएको दाबी गरेको छ। घटनापछि अस्पताललाई गाँजा तस्करीसँग जोडिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अस्पतालका सञ्चालक देवा यादवले बुधबार पत्रकार सम्मेलन गरी उक्त भ्यान अस्पतालको नभएको दाबी गरेका हुन्।
विराटनगरको दिव्य ज्योति अस्पताल लेखिएको भ्यानमा गाँजा भेटिएको घटनापछि अस्पताललाई जोडिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ । उनले अस्पतालको नाम दुरुपयोग गरी गाँजा तस्करी गर्ने व्यक्ति र प्रयोग भएको भ्यानमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

मंगलबार राति विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल, बीओपी दरैयाबाट खटिएको टोलीले दिव्य ज्योति अस्पताल प्रा. लि. लेखिएको को १ च ६६२० नम्बरको भ्यानलाई चेकजाँच गर्न खोजेको थियो।
प्रहरीले चेकजाँच गर्न खोजेपछि भ्यानका चालक गाडी छोडेर फरार भएका थिए। त्यसपछि भ्यानको जाँच गर्दा ६० किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।