झापा । झापाको बिर्तामोडमा प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको छ।
बिर्तामोड–५ बुद्धनगरस्थित कार्यालयमा छापा मार्दा २२ महिला र १९ पुरुष पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ग्लोबल ओरियन्सका शाखा प्रमुख पीताम्बर कट्टेल र अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू समेत छन्।

प्रहरीले कार्यालयबाट विभिन्न औषधि, स्वास्थ्य परीक्षण गर्ने उपकरण, कागजात तथा नगद बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य जाँच र औषधि बिक्रीका नाममा नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई आकर्षित गरी ठगी गर्ने गरेको आशंका गरिएको छ।
पक्राउ परेकामाथि अवैध स्वास्थ्य परीक्षण, औषधि बिक्री–वितरण तथा ठगीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।