Lite Nepal

बिहिबार, भाद्र १८, २०८३

विराटनगर। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्युवरण गरेका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित कुँवरको निवासमा परिवारजनसँग भेटगरी समवेदना प्रकट गरेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

महानिरीक्षक पौडेलले बाढीमा परी बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेटगरी सहानुभूति व्यक्त गरेका छन् । उनले आशिषलगायत बेपत्ता सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धारमा लागिरहेको स्पष्ट पारे ।

रसुवा बाढीमा परी सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका थिए । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको जानकारी दिए । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिइएका ४५ जना सैनिक हराइरहेका छन् ।

सुवाको भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रहरी समन्वय समितिको बैठकले मृतक प्रहरीका परिवारलाई राहतसँगै अन्य सहयोगका कार्यक्रमसमेत अघि बढाउने निर्णय गरेको हो।

निर्णयअनुसार मृतक प्रहरीका सन्ततिलाई प्रहरी आवासीय विद्यालयमा शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइनेछ। इच्छुक परिवारका एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि पनि पहल गरिने भएको छ।

त्यस्तै, दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय भएको छ। बाढी प्रभावित प्रहरी इकाइमा कार्यरत कर्मचारीका व्यक्तिगत सामग्री क्षति भएबापत जनही ५० हजार रुपैयाँ राहत दिने निर्णयसमेत गरिएको छ।

बाढीमा परी अझै सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीलाई प्रभावकारी बनाउन विशेषज्ञ टोली परिचालन गरिने भएको छ। खोजीका क्रममा परिवारसँग निरन्तर समन्वय गरिने प्रहरीले जनाएको छ। घाइते प्रहरी कर्मचारीको उपचारमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि बैठकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं