विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै भोटेकोशी बाढीबाट जलविद्युत् आयोजना र ऊर्जा क्षेत्रमा भएको क्षति तथा उद्धारका विषयमा छलफल गरेका छन्।
घिसिङले सुरुङमा फसेका नागरिकको उद्धारका लागि मुख्य समस्या प्रविधिभन्दा पनि आवश्यक जेसीबी, एक्साभेटर र ड्रिलिङ मेसिन घटनास्थलसम्म पुर्याउन नसक्नु रहेको बताए। सडक र पुल बाढीले बगाएकाले उद्धारमा कठिनाइ भएको उनको भनाइ छ।

बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन बन्द रहेको र त्यसमध्ये करिब १६५ मेगावाट एक–दुई महिनाभित्र पुनः सञ्चालन गर्न सकिने घिसिङले जानकारी दिए। उनले निजी जलविद्युत् प्रवर्द्धकलाई बिमा भुक्तानीमा सहजीकरण, ब्याज अनुदान तथा विशेष राहत प्याकेज ल्याउन सरकारसँग आग्रह गरेका छन्।
भविष्यमा यस्ता विपद्बाट जोगिन जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकन, बेसिन व्यवस्थापन तथा ‘सेफ्टी फर्स्ट’ अवधारणा अपनाउनुपर्ने र नदी किनारभन्दा माथिबाट सडक निर्माण गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।
घिसिङले विपद् प्रभावित होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला र वृद्धवृद्धाको अवस्था सुधार गर्न तथा बालबालिकालाई काठमाडौं ल्याई संरक्षण र शिक्षाको व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।