Lite Nepal

बिहिबार, भाद्र १८, २०८३

विराटनगर । दिव्य ज्योति अस्पताल प्रा.लि. लेखिएको भ्यानबाट गाँजा बरामद भएपछि सशस्त्र प्रहरीले उक्त भ्यानलाई इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको थियो। तर, भ्यानमा टाँसिएको अस्पतालको स्टिकर हटाइएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।

अस्पतालको नाम र विवरण उल्लेख भएको स्टिकर हटाइएपछि प्रमाण मेटाउन खोजिएको आशंका समेत गरिएको छ। यस विषयमा मोरङ प्रहरीले इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रविण घिमिरेसँग स्पष्टीकरण मागेको छ।

अस्पताल सञ्चालकले भने उक्त भ्यान आफ्नो नभएको दाबी गरेको छ। तर, स्रोतका अनुसार सोही भ्यानमा बिरामी ओसारपसार गर्ने गरिएको दाबी गरिएको छ। यसले घटनालाई थप विवादित बनाएको छ।

भदौ १६ गते मंगलबार राति करिब ११ बजेको समयमा विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँच गरिरहेको थियो। सोही क्रममा को.१ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर चेकजाँच गर्न खोज्दा चालक भ्यान छाडेर फरार भएका थिए।

चेकजाँचका क्रममा भ्यानबाट गाँजा बरामद भएपछि सशस्त्र प्रहरीले भ्यानलाई इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको थियो। त्यसपछि भ्यानमा टाँसिएको दिव्य ज्योति अस्पताल प्रा.लि.लेखिएको स्टिकर हटाइएको विषय बाहिर आएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो।

कसको आदेशमा र किन प्रमाणका रूपमा सुरक्षित रहनुपर्ने स्टिकर हटाइयो भन्ने विषयमा मोरङ प्रहरीले इन्स्पेक्टर घिमिरेसँग स्पष्टीकरण मागेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले इन्स्पेक्टर घिमिरेसँग स्पष्टीकरण मागिएको पुष्टि गरे।

उनले भने,’यो विषयमा अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि यसबारे जानकारी गराउँछौँ। प्रहरी निरीक्षकसँग हामीले स्पष्टीकरण सोधेका छौँ।’ घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं