विराटनगर । स्थानीय महिला उद्यमीहरूले तयार पारेका उत्पादनको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा ‘महिला उद्यमी बजार’ (वुमन इन्टरप्रिन्योर मार्केट) सुरु भएको छ।
नेपाल महिला उद्यमी संघ (वीन) मोरङ च्याप्टरको आयोजना तथा उदय परियोजनाको सहयोगमा विराटनगरस्थित होटल रुबिजमा एकदिने प्रदर्शनी तथा बिक्री मेला शुक्रबारदेखि सुरु भएको हो।


महिला उद्यमीहरूले घरमै वा साना उद्योगमार्फत उत्पादन गरेका गुणस्तरीय सामग्रीको बजार विस्तार गर्दै उपभोक्ताको पहुँच बढाउन कार्यक्रमले प्रेरित गर्ने वीन मोरङकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले बताइन्।
महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई उपभोक्तामाझ पुर्याउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

उनका अनुसार यसपटकको कार्यक्रम मोरङ आसपासका महिला उद्यमीलाई केन्द्रित गरेर आयोजना गरिएको हो। महिला उद्यमीका उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको उनले बताइन्।
