काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूका आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।
बाढीमा परी सम्पर्कविहीन भएको लामो समय बितिसक्दा पनि कुनै जानकारी नआएको र शवसमेत फेला नपरेपछि आफन्तहरूले कुशको शव बनाएर सामूहिक रूपमा दाहसंस्कार गरेका हुन्।

बेपत्ता भएकाहरूका आफन्तले शुक्रबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका छन्। पशुपति क्षेत्र विकास कोषले उनीहरूका लागि निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाएको छ।
रसुवाको बाढीमा परी मृत्यु भएका १ हजार २५९ जनाको शव फेला परेको छ। अझै ५ हजारभन्दा बढी नागरिक सम्पर्कविहीन रहेको बताइएको छ।
हालसम्म ९३ शवको मात्र सनाखत हुन सकेको छ। सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा खोज तथा उद्धार कार्य जारी राखेको छ।