काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार अभियानबारे पार्टीका वरिष्ठ नेताहरूले समेत सञ्चारमाध्यममा आएका नकारात्मक धारणालाई पछ्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
अर्का सांसद श्रीराम न्यौपानेसँगै काठमाडौँ फर्किने क्रममा आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले उद्धारका क्रममा आफूहरूले सक्दो प्रयास गरेको बताएका छन्। मानवीय दृष्टिले प्रयास आंशिक रूपमा सफल भए पनि प्राविधिक तथा इन्जिनियरिङ दृष्टिकोणबाट देशले महत्वपूर्ण उपलब्धि हासिल गरेको उनको दाबी छ।

ढकालका अनुसार स्थलगत रूपमा उद्धार अभियानमा खटिएको टोलीलाई विभिन्न पक्षबाट सहयोग प्राप्त भएको थियो। तर, सञ्चारमाध्यममा नकारात्मक धारणा फैलिँदा काम गर्ने वातावरणमा केही हदसम्म असर परेको उनले बताए। पार्टीका वरिष्ठ नेताहरू समेत त्यस्ता सञ्चार सामग्रीको प्रभावमा परेको उनको गुनासो छ।
रास्वपाले उद्धारस्थलमा सांसदहरूको उपस्थितिका कारण प्रतिकार्यमा अवरोध हुने अवस्था देखिए फर्किन निर्देशन दिएको विषयप्रति पनि ढकालले असन्तुष्टि जनाएका छन्।
उनले उद्धार अभियानमा थप २४ घण्टाको ढिलाइ भएको भए परिणाम प्रतिकूल हुनसक्ने अवस्था रहेको उल्लेख गर्दै अन्तिम समयमा उद्धार सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
देश निर्माणको उद्देश्यसहित सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिँदै ढकालले स्थलगत क्षेत्रमा रातदिन खटिने व्यक्तिहरूको प्रयासलाई बाहिर बसेर उपहास नगर्न आग्रह गरेका छन्। साथै, उद्धार अभियानमा सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।