काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा १९४ तथा भारतमा फेला परी नवलपरासी पश्चिममा बुझाइएका १८ शवसहित कुल एक हजार २९३ शव फेला परेका हुन्।

घाइतेमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जनाको टिचिङ अस्पताल र अर्का एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३० शव व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये २२२ महिला, ३५५ पुरुष र ४५३ जनाको लिङ्ग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका एक हजार २६० तथा आफन्तका ८४६ गरी कुल दुई हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ। साथै, पहिचान हुन नसकेका एक हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीपछि बेपत्ता भएका चार हजार ८९८ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यसैगरी, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार ६५५ जनालाई राखिएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै विभिन्न निकाय तथा स्थानीयवासीसँगको समन्वय र सहकार्यमा उद्धार तथा खोजी कार्य गरिरहेको छ। साथै, बाढीका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने काम पनि जारी रहेको प्रहरीले जनाएको छ।