प्रिन्स

शनिबार, भाद्र २०, २०८३

विराटनगर । “तिमीलाई कस्तो छ ? अनि नानीहरूलाई ? आफ्नो ख्याल गर्नु है…” रसुवाको भोटेकोशीमा बाढीले बर्दीसहित बगाएको प्रहरी जवानको परिवारमा यति बेला यस्तै संवाद सम्झनाबाहेक केही बाँकी छैन । एउटा जवानलाई बाढीले बगाउँदा परिवारले छोरा, छोराछोरीले बुबा र श्रीमतीले जीवनसाथी गुमाइन् ।

नागरिकको ज्यान जोगाउन आफ्नै ज्यान जोखिममा राखेर उद्धारमा खटिने सुरक्षाकर्मीको यस्तो पिडाबिच विपद्को समयमा उनीहरूकै खानपान र आधारभूत आवश्यकतामा पर्याप्त ध्यान नदिइएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपत्तिका समयमा सबैभन्दा अगाडि पुगेर नागरिकको उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी अहिले कठिन परिस्थितिसँग जुधिरहेका छन् ।

आफ्नो ज्यानको पर्बाह नगरी घण्टौँसम्म उद्धारमा खटिनुपर्ने सुरक्षाकर्मीले समयमा पर्याप्त खाना नपाउने र उपलब्ध भएको अवस्थामा पनि चाउचाउ, निस्तो भातजस्ता सामान्य खानामै भर पर्नुपर्ने अवस्था आउनु गम्भीर विषय हो ।डुबानमा फसेका नागरिकलाई काँधमा बोकेर सुरक्षित स्थानमा पु¥याउने, पहिरो पन्छाउने, जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार गर्ने र रातदिन नभनी ड्युटीमा खटिनुपर्ने सुरक्षाकर्मीका लागि पर्याप्त शारीरिक शक्ति र ऊर्जा आवश्यक हुन्छ । तर त्यहीअनुसार पोषणयुक्त खाना उपलब्ध नहुने हो भने उनीहरूबाट निरन्तर जोखिमपूर्ण काममा खटिने अपेक्षा गर्नु कति उचित हुन्छ भन्ने प्रश्न उठेको छ ।

 

त्यसैले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि छुट्टै पोषणयुक्त आपत्कालीन खाद्य प्याकेजको व्यवस्था गरी विपद् पूर्वतयारीकै एउटा महत्त्वपूर्ण अङ्ग बनाउनु जरुरी छ ।

 

विपद्का बेला सुरक्षाकर्मीले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै चेतना फैलाउनेदेखि प्रत्यक्ष उद्धारसम्मका काम गर्छन् । तर कहिलेकाहीँ उनीहरू आफैँ आधारभूत आवश्यकताका लागि संघर्ष गर्नुपर्ने अवस्था आउनु राज्यका लागि सोचनीय विषय भएको छ ।

रसुवामा बाढीमा परी एक सुरक्षाकर्मीहरूले ज्यान गुमाएको घटनाले पनि सुरक्षाकर्मीले विपद्को समयमा व्यहोर्नुपर्ने जोखिमलाई थप उजागर गरेको छ । बाढीले एउटा जवानलाई मात्र बगाएको हुँदैन, त्यससँगै एउटा परिवारको सहारा, छोराछोरीको अभिभावक र श्रीमतीको जीवनसाथी पनि गुम्छ ।

रक्षा बन्धनमा दिदीबहिनीको हात खाली हुन्छ । तिहारमा घरमा दाजुभाइको प्रतीक्षा हुँदैन । परिवारले सम्झनामा बाँच्नुपर्ने यस्तो पीडा सामाजिक सञ्जालमा गरिने समवेदना वा राजनीतिक आरोप–प्रत्यारोपले मात्र सम्बोधन गर्न सकिँदैन ।

उद्धारमा खटिने सुरक्षाकर्मीलाई आवश्यक खाना, पानी, स्वास्थ्य सेवा र सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको दायित्व हो । यसका लागि सरकारले प्रत्येक सुरक्षा निकायका लागि आपत्कालीन उद्धार खाद्य प्याकेजको व्यवस्था गर्न सक्नुपर्छ । यस्तो प्याकेजमा २४ घण्टाका लागि आवश्यक क्यालोरी र पोषण पुग्ने गरी तयार खाना, चामल–दाल वा रेडी–टु–इट खाना, प्रोटिनयुक्त खाद्य पदार्थ, बिस्कुट वा ऊर्जा बार, ड्राइफ्रुट, चिया–कफी, इलेक्ट्रोलाइट तथा आवश्यक पेय पदार्थ समावेश गर्न सकिन्छ ।

यस्ता खाद्य प्याकहरू विपद् आउनुअघि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटमा पर्याप्त मात्रामा भण्डारण गरी आवश्यक परेको समयमा तत्काल उपलब्ध हुने व्यवस्था गर्न जरुरी हुन्छ ।

सरकारले सुरक्षाकर्मीले गरेको योगदानको प्रशंसा गर्ने, समवेदना व्यक्त गर्ने र सम्मान गर्ने मात्र होइन, उनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक खाना, स्वास्थ्य, सुरक्षा र स्रोतसाधन पनि उपलब्ध गराउनुपर्छ ।

त्यसैले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि छुट्टै पोषणयुक्त आपत्कालीन खाद्य प्याकेजको व्यवस्था गरी विपद् पूर्वतयारीकै एउटा महत्त्वपूर्ण अङ्ग बनाउनु जरुरी छ । सुरक्षाकर्मी बलियो भए मात्र उद्धार अभियान बलियो हुन्छ । उद्धारकर्ताको पेट खाली राखेर उद्धार अभियान सफल हुन सक्दैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं