काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ।
मन्त्रालयले शिक्षा ऐन, २०२८ को दफा १९ ९क० अनुसार ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको हो। निर्देशिकाले कक्षा ८ वा सोभन्दा माथि अध्ययनरत विद्यार्थी, युवा, कामदार र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित वर्गका रूपमा तोकेको छ।

निर्देशिकाअनुसार लक्षित वर्गको रुचि, क्षमता, सीप तथा सबल पक्ष पहिचान गरी उपयुक्त विषय, पेसा तथा वृत्तिपथ छनोटमा मार्गनिर्देशन र परामर्श दिइनेछ। त्यसका लागि साइकोमेट्रिक परीक्षणलगायतका विधिबाट ‘करिअर लेखाजोखा’ गरिनेछ।
विद्यार्थी तथा युवालाई साधारण शिक्षा वा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममध्ये उपयुक्त विकल्प छनोट गर्न तथ्यमा आधारित परामर्श, वृत्ति योजना, रोजगारी तथा उद्यमशीलतासम्बन्धी मार्गनिर्देशन प्रदान गरिनेछ।
कामको खोजीमा रहेका युवा, विद्यार्थी तथा कामदारको शैक्षिक, सीप तथा तालिमसम्बन्धी विवरण संकलन गरी श्रमबजारको सूचनाका आधारमा आवश्यक जानकारी अद्यावधिक गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा बेरोजगार युवाको सीप र क्षमताको मूल्याङ्कन गरी रोजगारी तथा स्वरोजगारीका अवसरबारे लक्षित परामर्शसमेत दिइनेछ।
विद्यालयदेखि श्रम बजारसम्मको संक्रमण सहज बनाउन करिअर व्यवस्थापन, व्यक्तिगत विवरण तयारी, अन्तर्वार्ता सीप, औद्योगिक अवलोकन, उद्यमशीलता विकास, इन्टर्नसिप तथा ‘जब स्याडोइ’ लगायतका कार्यक्रम सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।
वृत्ति, सीप, रोजगारी तथा जीवनपर्यन्त सिकाइसम्बन्धी सूचना तथा सामग्री डिजिटल माध्यमबाट उपलब्ध गराइनेछ। सेवा सञ्चालनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा निर्देशक समिति तथा शिक्षा विभागमा ‘वृत्ति मार्गनिर्देशन समन्वय एकाइ’ रहने व्यवस्था गरिएको छ।
स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई समेत उनीहरूको अध्ययन, रुचि, क्षमता तथा दक्षताका आधारमा रोजगारी र स्वरोजगारीका अवसरबारे मार्गनिर्देशन तथा परामर्श प्रदान गरिनेछ।