इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलामको माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ माध्यम बनाएका छन् । माङसेबुङ गाउँपालिका–२, काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि व्यावसायिक रूपमा रुद्राक्ष खेती गर्दै आएका छन् । खेतीयोग्य जमिनमा रुद्राक्ष रोपेका जवेगूले यसबाट वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
उनले १८ रोपनी बारीमा ३०० वटा रुद्राक्षका बोट रोपेका छन् । वि.सं. २०७३ मा सङ्खुवासभाको कुस्वाबेँसीबाट प्रतिगोटा २०० रुपैयाँका दरले बिरुवा खरिद गरी रुद्राक्ष खेती सुरु गरेको उनले बताए । चार वर्षपछि सबै बोटले उत्पादन दिन थालेका थिए ।

‘वि.सं. २०७३ मा सङ्खुवासभाको कुस्वाबेँसीबाट प्रतिगोटा २०० रुपैयाँका दरले ३०० वटा रुद्राक्षका बिरुवा ल्याएर खेतीयोग्य बारीमा रोपेको हुँ,’ उनले भने, ‘चार वर्षपछि उत्पादन सुरु भयो । वि.सं. २०७७ देखि बर्सेनि दुई लाख रुपैयाँ कमाइ भइरहेको छ ।’
रुद्राक्षलाई अन्य बालीजस्तो धेरै मेहनत गर्न नपर्ने भएकाले यसबाट हुने आम्दानी तुलनात्मक रूपमा बचत हुने जवेगू बताउँछन् । सुरुमा बिरुवा खरिद, खाडल निर्माण, मलखाद तथा सिँचाइ व्यवस्थापनमा खर्च भए पनि बोट हुर्किएपछि नियमित खर्च कम हुने उनको भनाइ छ । अन्य अन्नबालीमा हरेक वर्ष लगानी र श्रम गर्नुपर्ने भए पनि रुद्राक्ष एकपटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिने उनले बताए ।
बोटमै ठेक्का
जवेगूले उत्पादन गरेको रुद्राक्ष बिक्रीका लागि बजारको चिन्ता लिनुपर्दैन । सङ्खुवासभाका व्यापारीले बोटमै वार्षिक दुई लाख रुपैयाँ दिने शर्तमा ठेक्का सम्झौता गरी उत्पादन लैजाने गरेका छन् ।
‘रुद्राक्ष बिक्रीका लागि मैले केही गर्नुपर्दैन । उत्पादन भएपछि उहाँहरू आफैँ आउनुहुन्छ । दाना हेर्नुहुन्छ र मुखदार दाना छान्नुहुन्छ,’ उनले भने, ‘ठेक्का सम्झौताअनुसार पैसा दिएर जानुहुन्छ ।’
विगतमा मकै, कोदो लगायतका अन्नबाली खेती गर्दै आएका जवेगूले रुद्राक्षबाट कम मेहनतमा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने अनुभव सुनाए । रुद्राक्षबाट हुने नियमित आम्दानीले घरखर्च चलाउन सहज भएको उनको भनाइ छ ।
‘पहिले कडा मेहनत गर्दा पनि अन्नबालीबाट घरखर्च चलाउन मुस्किल पर्दथ्यो,’ उनले भने, ‘अहिले बर्सेनि नियमित आम्दानी हुन थालेपछि घरखर्च चलाउन सहज भएको छ ।’
रुद्राक्ष खेतीबाट नियमित आम्दानी हुन थालेपछि जवेगूले आगामी दिनमा खेती विस्तार गर्ने योजना बनाएका छन् । आगामी वर्ष थप नयाँ जमिनमा रुद्राक्ष रोप्ने तयारीमा रहेका उनले गाउँका अन्य किसानलाई समेत रुद्राक्ष खेतीबारे जानकारी गराउँदै आएका छन् ।
अन्य किसान पनि आकर्षित
माङसेबुङमा पहिलोपटक जवेगूले व्यावसायिक रूपमा रुद्राक्ष खेती सुरु गरेपछि अन्य किसानले पनि परीक्षणका रूपमा थोरै क्षेत्रमा रुद्राक्ष रोप्न थालेका छन् । स्थानीयस्तरमा प्राविधिक सहयोग, गुणस्तरीय बिरुवा र बजार व्यवस्थापनमा ध्यान दिन सके रुद्राक्ष खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने जवेगूको भनाइ छ ।
रुद्राक्षबाट गुणस्तरीय र दुर्लभ दाना उत्पादन भए एकैपटक ठूलो रकम आम्दानी गर्न सकिने उनले बताए ।
‘सबै दानाको मूल्य एउटै हुँदैन,’ उनले भने, ‘स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन् ।’
रुद्राक्षका दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । दानाको मूल्य पनि मुखको सङ्ख्याअनुसार फरक हुने गरेको छ । सामान्यतया आठदेखि २९ मुखेसम्मका दानालाई ‘मुखदार’ रुद्राक्ष मानिने व्यापारीहरू बताउँछन् । मुखको सङ्ख्या धेरै भएका दाना दुर्लभ र मूल्यवान मानिने भएकाले त्यस्ता रुद्राक्षको बजार मूल्य पनि उच्च हुने गर्दछ ।
रुद्राक्षका दाना धार्मिक तथा सांस्कृतिक प्रयोजनका साथै माला, गहना र विभिन्न सामग्री बनाउन प्रयोग हुने भएकाले यसको बजारमा माग रहेको व्यवसायीहरू बताउँछन् । धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा समेत रहेको उनीहरूको भनाइ छ ।
विज्ञका अनुसार रुद्राक्ष समुद्री सतहदेखि करिब १ हजार ८०० मिटर उचाइसम्म खेती गर्न सकिन्छ । माटोयुक्त, पारिलो तथा घमाइलो जमिन रुद्राक्ष खेतीका लागि उपयुक्त मानिन्छ । यसको बिरुवा वर्षायाममा अर्थात् असारदेखि असोजसम्म करिब १० मिटरको फरकमा रोप्न उपयुक्त मानिन्छ ।
तराईदेखि मध्यपहाडी क्षेत्रमा समेत खेती गर्न सकिने रुद्राक्ष फल दिन थालेपछि दशकौँसम्म उत्पादन लिन सकिने नगदे बालीका रूपमा चिनिन्छ ।