Lite Nepal

आइतबार, भाद्र २१, २०८३

काठमाडौं । दक्षिण कोरियाले भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा विपद्पछिको पुनर्निर्माण, खोज तथा उद्धार र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालन भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे दुवै मन्त्रीबीच विस्तृत छलफल भएको छ।

भेटमा बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा त्यसमा भइरहेको प्रगतिका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली तथा अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली परिचालन गरेकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएका छन्। उनले कोरियाबाट प्राप्त मानवीय सहायता र राहत सामग्रीको समेत प्रशंसा गरेका छन्।

मन्त्री खनालले विपद्‌बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै दिगो, बलियो र विपद्‌प्रतिरोधी पूर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

उनले पुनर्निर्माण तथा पूर्वाधार निर्माणका काममा दक्षिण कोरियाबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

जवाफमा कोरियाली परराष्ट्रमन्त्री ह्युनले विपद्पछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सघाउन कोरिया सरकार तयार रहेको बताएका छन्।

कोरियाली परराष्ट्रमन्त्री ह्युनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले व्यहोर्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको बताएका छन्।

उनले जलवायुजन्य जोखिम र क्षतिका विषयमा अन्य मुलुकलाई जिम्मेवार तथा सचेत बनाउन नेपाल र दक्षिण कोरियाले कोपलगायत अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका पक्षमा दक्षिण कोरियाले पनि आवाज उठाउने प्रतिबद्धता उनले जनाएका छन्।

भेटमा दुवै मन्त्रीले आपसी विश्वास, मित्रता र सहकार्यमा आधारित नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्‍याउन निकट रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युन तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौँ आएका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं