काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी परित्याग गरेको घोषणा गरेका छन्।
पाठकले आइतबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै महामन्त्रीलगायत पार्टीका सबै पद तथा पार्टी सदस्यसमेत नरहने घोषणा गरेका हुन्। उनी करिब चार वर्षदेखि महामन्त्रीको जिम्मेवारीमा थिए। पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायम रहेको भन्दै पाठकले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको ठूलो अभाव देखिएको उनले बताएका छन्।
पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त संघर्ष झन् बढ्दै गएको पनि पाठकको आरोप छ। यसले गर्दा नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवालाई छिटपुट अपवादबाहेक पार्टीमा आकर्षित गर्न नसक्ने अवस्था बनेको उनले बताएका छन्।
‘म लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना देखिँदैन। यसमा मेरा आफ्नै कमजोरीहरू पनि होलान्,’ पाठकले भनेका छन्, ‘त्यति भन्दै गर्दा राप्रपाका विभिन्न, खासगरी तल्ला तहमा रहेका अनगिन्ती नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता अतुलनीय र प्रेरणादायी छ। उहाँहरूप्रति म सदा नतमस्तक रहनेछु।’ पाठक रविन्द्र मिश्रसँगै राप्रपा प्रवेश गरेका थिए। मिश्रले पनि गत निर्वाचनलगत्तै पार्टी छाडेका थिए।