Lite Nepal

मंगलबार, भाद्र २३, २०८३

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला भोजपुरका किसानका लागि ‘दूधे पिँडालु’ खेती भरपर्दो आम्दानीको नयाँ स्रोत बन्न थालेको छ ।

स्वादिलो र पोषणयुक्त मानिने दूधे पिँडालुको स्थानीय बजारमा माग र मूल्य बढ्दै गएपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।

तरकारी तथा खाजाका रूपमा प्रयोग हुने दूधे पिँडालु भोजपुर सदरमुकामलगायत आसपासका स्थानीय हाटबजारमा प्रतिकेजी ५० देखि ८० रुपैयाँसम्ममा बिक्री भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाले बताए ।

उनका अनुसार बाँदरले क्षति नगर्ने तथा अन्य बालीको तुलनामा कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय किसान पिँडालुखेतीतर्फ आकर्षित भएका हुन् ।

“राम्रोसँग फस्टाएको एउटै बोटबाट एकदेखि तीन केजीसम्म पिँडालु उत्पादन हुन्छ,” थापाले भने, “थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिन्छ । अचेल गाउँमा धेरैजसोले पिँडालुलाई मुख्य वैकल्पिक बालीका रूपमा लगाउन थालेका छन् ।”

जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा बाँदरको आतङ्कका कारण मकै, धान, कोदो तथा अन्य बाली जोगाउन किसानलाई समस्या हुने गरेको छ । जमिनमुनि फल्ने बाली भएकाले पिँडालुलाई बाँदरले क्षति पुर्‍याउन नसक्ने किसानहरू बताउँछन् ।

बाँदर तथा अन्य जङ्गली जनावरबाट हुने क्षति कम हुने भएकाले बाँझो छाडिएका खेतबारीमा समेत किसानले पिँडालु लगाउन थालेका छन् । भोजपुरकी स्थानीय किसान गीता विष्टका अनुसार पिँडालुको पात र डाँठ बङ्गुरको चाराका रूपमा समेत प्रयोग हुन्छ । बङ्गुरपालन गर्ने किसानले पिँडालुको बोट खरिद गरेर लैजाने गरेका छन् ।

स्थानीय बजारमा दूधे पिँडालुलाई ग्राहकले स्वादिलो तथा अर्गानिक खाजाका रूपमा रुचाउने गरेका छन् । बजारसम्म पुर्‍याउनासाथ बिक्री हुने भएकाले यसको बजारीकरणमा खासै समस्या नरहेको विष्टले बताइन् ।

बाँदर नियन्त्रण गर्न नसक्दा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने बाध्यतामा रहेका किसानका लागि दूधे पिँडालुखेती वैकल्पिक आम्दानीको स्रोत बनेको छ । कम लगानीमा राम्रो आम्दानी हुन थालेपछि भोजपुर नगरपालिका–५ बोखिमलगायत जिल्लाका अन्य गाउँमा पनि यसको व्यावसायिक खेती विस्तार हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं