गाँजा बोकेको भ्यानसँग स्ववियु अध्यक्षको कनेक्सन कसरी ?

गाँजा बोकेको भ्यान र स्टिकरको रहस्य कायमै, चालक फरार : पक्राउको आधारमाथि पनि उठ्यो प्रश्न

सुजता लिम्बू

मंगलबार, भाद्र २३, २०८३

विराटनगर । केही दिनअघि विराटनगरमा ६० किलो गाँजा बरामद भयो। गाँजा बोकेको भ्यान प्रहरीको नियन्त्रणमा छ। भ्यानको पछाडि अस्पतालको नाम लेखिएको स्टिकर पनि भेटियो। त्यही भ्यानको स्टिकर मेटाएको घटनासँग जोडिएको आरोपमा स्ववियु अध्यक्ष रोहित यादव पक्राउ परे।

तर यति सबै भइसक्दा पनि घटनाको सबैभन्दा महत्वपूर्ण कडी भने अझै गायब छ, भ्यानका मालिक र चालक। मंगलबार राति विराटनगर महानगरपालिका–१६, दरैयाको कोलर चोकमा सशस्त्र प्रहरीको टोलीले ‘दिव्य ज्योति अस्पताल प्रा.लि. लेखिएको को. १ च ६६२० नम्बरको सुजुकी भ्यान चेकजाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भए। त्यसपछि भ्यानभित्रबाट ६० किलो गाँजा बरामद भयो।

अब प्रश्न उठ्छ, चेकजाँच गर्न खोज्दा चालक कसरी सजिलै फरार भए ?

सशस्त्र प्रहरीले भ्यान नियन्त्रणमा लियो, गाँजा बरामद गर्‍यो। तर फरार चालक को हुन् भन्ने प्रश्न अझै अनुत्तरित छ। चालकको पहिचान र खोजीमा के प्रगति भयो भन्नेबारे प्रहरीले पनि स्पष्ट जानकारी दिएको छैन।

अब अर्को प्रश्न उठ्छ, गाँजा बोकेको भ्यानमा अस्पतालको नाम किनर ?  दिव्य ज्योति आँखा अस्पतालले भ्यान आफ्नो नभएको दाबी गरिसकेको छ। अस्पतालको नाम दुरुपयोग गरेर तस्करी गरिएको हुनसक्ने भन्दै अस्पतालले कारबाहीको मागसमेत गरेको छ।

त्यसो भए अस्पतालको नाम भ्यानमा कसले राख्यो ? त्यसपछि अर्को रहस्य छ, इलाका प्रहरी कार्यालय रानीको जिम्मामा रहेको भनिएको स्टिकर कसरी र किन उप्काइयोर ?यही विषयमा महेन्द्र मोरङ क्याम्पसका स्ववियु अध्यक्ष रोहित यादव पक्राउ परेका छन्। प्रहरीका अनुसार उनले अस्पतालको स्टिकर उप्काएर प्रमाण नष्ट गर्न खोजेका थिए।

तर यादवको पक्राउसँगै अर्को प्रश्न थपिएको छ, उनको गाँजा तस्करीसँग प्रत्यक्ष सम्बन्ध के हो ? भ्यानसँग उनको कनेक्सन कसरी स्थापित भयोरु उनले स्टिकर किन उप्काए ? अस्पताल प्रशासनले गरेको पत्रकार सम्मेलनमा रोहित यादव स्वयं पनि उपस्थित थिए। तर यी तमाम प्रश्नमा प्रहरीको जवाफ अहिलेसम्म उही छ,‘अनुसन्धान भइरहेको छ।’
जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले अनुसन्धान विभिन्न कोणबाट भइरहेको बताएका छन्।

तर अनुसन्धानको केन्द्रमा रहेका भनिएका भ्यानधनी, फरार चालक, अस्पतालको स्टिकर र पक्राउ परेका यादवबीचको कडी भने प्रहरीले सार्वजनिक गरेको छैन। डीएसपी  मिश्र भन्छन्, ‘अनुसन्धानबाट आएपछि प्रेस विज्ञप्ति मार्फत हामी जानकारी गराउँछौ ।’

यहाँ सशस्त्र प्रहरीमाथि पनि प्रश्न उठ्छ, ६० किलो गाँजा बोकेको भ्यान नियन्त्रणमा लिन सक्ने टोलीले चालकलाई किन समात्न सकेनरु फरार चालकबारे तत्कालै पहिचान खुल्ने आधार किन भेटिएन ?

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार प्रहरीले ‘पिन प्वाइन्ट’ सूचना र पर्याप्त आधार भएपछि मात्रै पक्राउ गर्ने गर्छ। तर घटनामा पक्राउ परेका व्यक्तिमाथि कुन आधारमा अनुसन्धान अघि बढाइएको हो र फरार चालकसम्म पुग्न प्रहरीसँग के आधार छन् भन्ने कुरा अझै सार्वजनिक गरिएको छैन।

त्यसैले प्रश्नहरू अझै उस्तै छन्, गाँजा बोकेको भ्यान वास्तवमा कसको हो ? फरार चालक को हुन् र उनी कहाँ छन् ? अस्पतालको नाम कसले र किन प्रयोग गर्‍यो ?

यसमा अर्को महत्वपूर्ण प्रश्न थपिएको छ, रोहित यादवको वास्तविक भूमिका के हो ?  ६० किलो गाँजा भेटिएको छ। भ्यान भेटिएको छ। प्रमाण नष्ट गर्न खोजेको आरोपमा एक जना पक्राउ पनि परिसकेका छन्। तर घटनाको मूल कडी मानिएको चालक र भ्यानधनी अझै अनुसन्धानको पर्दापछाडि छन्।

प्रहरीले गाडीको कर तिरेको छ कि छैन, स्वामित्वलगायतका विषयमा समेत अनुसन्धान भइरहेको जनाएको छ। स्ववियु अध्यक्ष विद्यार्थी नेता हुन्। तर गाँजा बोकेको भ्यानसँग उनको कनेक्सन कसरी जोडियो ? भन्ने प्रश्नमा पनि डीएसपी मिश्रको जवाफ उही छ,’अनुसन्धान भइरहेको छ।’

यता, यादव अस्पताल प्रशासनले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएको तथ्यले पनि घटनालाई थप चासोको विषय बनाएको छ। अहिले प्रहरीको अनुसन्धानले यी प्रश्नको जवाफ खोजिरहेको छ। तर मुख्य पात्र मानिएको फरार चालक र भ्यानधनीको पहिचान सार्वजनिक नभएसम्म ६० किलो गाँजा बरामद भएको यो घटनाका धेरै कडी भने अझै रहस्यमै छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं