Lite Nepal

बिहिबार, भाद्र २५, २०८३

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई आयआर्जनसँग जोड्ने उद्देश्यले अदुवा खेती प्रवर्द्धन कार्यक्रम अघि बढाएको छ।

गाउँपालिकाले गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारबाट सशर्त अनुदानमार्फत प्राप्त रु १० लाख बजेटबाट वडा नं। ४ खैराङस्थित लुङथुङ क्षेत्रमा ७९ रोपनीमा व्यावसायिक अदुवा खेती विस्तार गरेको हो।

हतुवागढी–४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खैराङ क्षेत्रमा उत्पादन हुने अदुवा उच्च गुणस्तरको मानिने भएकाले यसको व्यावसायिक खेतीलाई प्राथमिकतामा राखिएको हो। स्थानीय माटो र जलवायु अदुवा खेतीका लागि अनुकूल रहेको उनले बताए।

“स्थानीय माटो र जलवायु अदुवा खेतीका लागि अत्यन्त अनुकूल छ। गुणस्तरीय उत्पादन हुने भएकाले किसानको जीवनस्तर सुधार्न अदुवा प्रवर्द्धन कार्यक्रम अघि बढाएका हौँ,” वडाध्यक्ष विष्टले भने।

गाउँपालिकाको पहलपछि स्थानीय किसान व्यावसायिक अदुवा खेतीतर्फ आकर्षित भएका छन्। गाउँपालिकाको सहयोगमा दुई समूहमा आबद्ध ४४ किसानले हाल व्यावसायिक रूपमा अदुवा खेती गरिरहेका छन्। खेतीका लागि आवश्यक हाते ट्र्याक्टरलगायत कृषि औजारसमेत वितरण गरिएको छ।

स्थानीय किसान राजकुमार राईले अदुवा खेती विस्तार कार्यक्रमले आफूहरूलाई ठूलो प्रोत्साहन मिलेको बताए। “मैले अहिले एक हजार किलो अदुवा रोपेर खेती गरेको छु,” उनले भने, “अदुवा खेतीबाट वार्षिक रु दुई लाख ५० हजारदेखि रु तीन लाखसम्म आम्दानी हुने गरेको छ। खेती विस्तारले आगामी दिनमा आम्दानी अझ बढ्ने अपेक्षा छ।”

उनका अनुसार हाल स्थानीय बजारमा अदुवा प्रतिकिलो रु १२० मा बिक्री भइरहेको छ। यहाँ उत्पादन भएको अदुवा स्थानीय बजारका साथै धरान, विराटनगर र इटहरीलगायत ठूला सहरमा समेत पुग्ने गरेको छ।

गाउँपालिकाले उत्पादित अदुवाको बजारीकरण र भण्डारणका लागि आवश्यक सहजीकरण गर्ने योजना बनाएको छ। बजारीकरणलाई थप सहज बनाउन चालु आर्थिक वर्षमा हतुवागढी–३ मा अदुवा प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरिएको छ।

कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार कोशी प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय किसानको लागत साझेदारीमा रु १५ लाखको लागतमा सौर्य प्रविधिबाट अदुवा सुकाउन सकिने आधुनिक प्रशोधन केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय तहमै उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न यस्ता कृषि कार्यक्रम सञ्चालन गरिएको बताए। कृषिमा आधारित स्वरोजगार सिर्जना गर्ने नीतिअनुरूप गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाउँदै लगेको उनको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले अदुवा खेतीमार्फत किसानलाई प्रत्यक्ष आयआर्जनसँग जोड्ने लक्ष्यका साथ खैराङको ठूलो क्षेत्रमा व्यावसायिक खेती विस्तार गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं