काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि सरकारले गरिरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामबारे विपक्षी दलहरूले समीक्षा गरेका छन्।
नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको बैठकमा सर्वदलीय बैठकबाट तय भएका नौबुँदे प्रतिबद्धताको कार्यान्वयन, राहत वितरणको अवस्था र आगामी रणनीतिबारे छलफल भएको कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

विपक्षी दलहरूले राहत वितरणमा देखिएका कमजोरी सुधार गर्दै प्रभावितलाई समयमै राहत उपलब्ध गराउन र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि विशेष संसदीय समिति गठन गर्ने विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमणको विषयले समेत बैठकमा प्रवेश पाएको थापाले बताइन्।