Lite Nepal

बिहिबार, भाद्र २५, २०८३

विराटनगर । ३७ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेपछि मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च गर्दा प्रहरीले १० लाखभन्दा बढी नगद र आठ वटा फलामे रड फेला पारेको छ ।

लामो समयदेखि केही कैदीबन्दीको प्रभावमा रहेको भनिएको उक्त ब्लकबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र आठ वटा फलामे रड बरामद भएपछि ती सामग्री कसले, किन र कहिलेदेखि लुकाएर राखेको थियो भन्ने प्रश्न उठेको छ ।

बरामद रकम र रड स्थानान्तरण गरिएका कैदीबन्दी रहेकै समयमा ब्लकभित्र लुकाएर राखिएको हुनसक्ने आशंकासहित प्रहरीले यसको स्रोत, प्रयोजन र संलग्नताबारे अनुसन्धान थालेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार दिउँसो मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च गरेको हो । सर्चका क्रममा उक्त रकम र फलामे रड बरामद भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी दिए ।

‘कारागारभित्र सर्च गर्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र आठ वटा रड बरामद गरेका छौँ,’ एसपी कटुवालले भने । मोरङ कारागारको ‘बी’ ब्लकमा लामो समयदेखि केही कैदीबन्दीले भारतीय नागरिक चञ्चल बर्मा र मनिष विकको प्रभावमा समानान्तर सत्ता सञ्चालन गरेको आरोप लाग्दै आएको थियो ।

ब्लकभित्रको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेपछि प्रहरीले केही समययता निगरानी बढाउँदै आएको थियो । यसै क्रममा चञ्चल बर्मा र मनिष विकसहित ३७ जना कैदीबन्दीलाई दुई चरणमा अन्य कारागारमा स्थानान्तरण गरिएको थियो । पहिलो चरणमा १९ जना र दोस्रो चरणमा १८ जना गरी ३७ जनालाई अन्य कारागारमा सारिएको हो ।
प्रहरीका अनुसार उनीहरू कारागारमा रहँदा ‘बी’ ब्लकमा सहज रूपमा सर्च गर्न कठिनाइ हुँदै आएको थियो । ३७ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेपछि अवस्था सामान्य बनेसँगै प्रहरीले ब्लकमा सर्च गर्न सकेको एसपी कटुवाल बताउँछन् ।

कारागारभित्र फलामे रड कुन प्रयोजनका लागि राखिएको थियो भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ । ‘बी’ ब्लकमा यसअघि पटकपटक विवाद तथा अशान्तिको अवस्था देखिँदै आएको थियो । कैदीबन्दीको एउटा समूहले प्रभाव जमाउँदै आएको आरोपपछि कारागार प्रशासनले सुरक्षा निगरानी बढाएको थियो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं