Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आइले सिरानमा एक पुरुषको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार २०८२  वैशाख २० गते मिक्लाजुङ गाउँपालिका–३ आइले सिरानस्थित भईन्द्र राईको बारीमा सोही स्थानका ४८ वर्षीय इन्द्रकुमार दमाई मृत अवस्थामा फेला परेका थिए। उनी मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरीले घटनास्थलमा टोली खटाई प्रारम्भिक अनुसन्धान थालेको थियो।

घटनास्थलको निरीक्षण गर्दा मृतकको घाँटीमा कपडाको सलको पासो रहेको तथा शरीरका विभिन्न भाग र निधारमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको थियो। शवको प्रकृति समेत शंकास्पद देखिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर थप अनुसन्धान अघि बढाएको थियो।

घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय रवीका प्रमुख प्रहरी निरीक्षक दुर्गा राईको नेतृत्वमा गरिएको थियो। प्रहरी निरीक्षक राईको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको सूक्ष्म निरीक्षण, प्रमाण संकलन तथा घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएपछि घटना आत्महत्या नभई कर्तव्य ज्यान भएको तथ्य खुलेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा इन्द्रकुमार दमाईलाई आफ्नै घरमा बन्चरो प्रहार गरी हत्या गरिएको र त्यसपछि घटनालाई आत्महत्याको रूप दिन शवलाई घर  नजिकैको आलचाकोरुखमा झुण्डयाएर पुनः त्यस स्थानबाट ५ सय मिटर तल भिर पाखामा फ्याकेको  समेत अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घटनालाई आत्महत्याको आवरण दिन खोजिएको भए पनि घटनास्थलमा देखिएका चोटपटक, शवको अवस्था तथा संकलित प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीको निरन्तर अनुसन्धानपछि घटनामा संलग्न रहेको आरोपमा दुई जना  पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये एक जना बालकसमेत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनीहरूविरुद्ध प्रचलित कानुनअनुसार कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिस कुमार कर्णले विज्ञप्ति जानकारी दिए ।

प्रहरीले घटनाको वास्तविक कारण, हत्या पछाडिको उद्देश्य तथा घटनामा अन्य व्यक्तिको संलग्नता भएर नभएको विषयमा समेत थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं