म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि करिब रु ४० लाख सहयोग गरेको छ ।
बाढी प्रभावितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले रु ३९ लाख ९४ हजार ३६६ सहयोग गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नगर उपप्रमुख ज्योती लामिछानेले जानकारी दिइन् ।

उनका अनुसार जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकको पारिश्रमिकबाट रकम कट्टी गरी सहयोग गरिएको हो । यसअघि म्याग्दीका धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले पनि विपद् व्यवस्थापन कोषबाट रु दुई–दुई लाखका दरले सहयोग गरिसकेका छन् ।