सुजता लिम्बू

शनिबार, भाद्र २७, २०८३

विराटनगर । तीज नजिकिँदै गर्दा विराटनगरको गुद्री बजारमा विगतका वर्षमा जस्तो चहलपहल देखिएको छैन। अन्य समयमा पनि भिडभाड हुने बजार तीजको समयमा झनै भरिभराउ हुने गरेको थियो। तर यस वर्ष भने तीजको रौनकसँगै व्यापारमा समेत कमी आएको स्थानीय व्यवसायीहरू बताउँछन्।

विगतमा तीज आउनुभन्दा करिब एक महिनाअघिदेखि नै गुद्री बजारमा किनमेल गर्ने ग्राहकको भीड लाग्ने गरेको थियो। तर यस वर्ष आवश्यकताअनुसारका सामग्री खरिद गर्न आउने ग्राहकको संख्या समेत घटेको व्यवसायीहरूको भनाइ छ।  भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीको प्रभावका कारण उपभोक्ताले खर्चमा कटौती गरेको उनीहरूको बुझाइ छ।

स्थानीय व्यवसायी पप्पु कुमार शाहका अनुसार विगतका वर्षमा तीज आउनुभन्दा एक महिनाअघिदेखि नै बजारमा ग्राहकको चाप बढ्ने गरेको थियो। तर यस वर्ष मानिसको आवागमन नै कम भएको उनले बताए।

“पहिले तीज आउनुभन्दा एक महिनाअघिदेखि नै बजारमा ग्राहकको भीड लाग्थ्यो। यस वर्ष भने मानिसहरू नै कम आएका छन्। त्यसको प्रत्यक्ष असर व्यापारमा परेको छ,” शाहले भने।

व्यवसायी गीता भट्टराई पनि बाढीका कारण चाडपर्वको व्यापारसँगै समग्र व्यवसायमा असर परेको बताउँछिन्। विगतमा जस्तो व्यापार नभएपछि आफूले पसल नै बन्द गरेर आएको उनको भनाइ छ।झापाकी उनी व्यवसाय ठप्प भएर नै पसल बन्द गरेर तीज मनाउने विराटनगर आएको बनाइन् ।

“पहिलेको जस्तो व्यवसाय चलेन। व्यापार नै नभएपछि पसल बन्द गरेर विराटनगर आएकी हुँ। बाढीको असर चाडपर्वको व्यापारमा मात्रै होइन, समग्र व्यवसायमा परेको छ,” भट्टराईले भनिन्।

गुद्री बजारमा ग्यारेन्टी गहनाको व्यापार गर्दै आएका रिक्की गुप्ता पनि यस वर्ष तीजको रौनक घटेको बताउँछन्। विगतको तुलनामा ग्राहकको संख्या र बिक्री दुवै कम भएको उनको अनुभव छ।

“यसपालि तीजको रौनक नै घटेको जस्तो लाग्छ। पहिलेको जस्तो ग्राहकको चहलपहल छैन। देशका विभिन्न ठाउँ बाढीमा डुबेका छन्। त्यसको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव व्यवसायमा परेको छ,” गुप्ताले भने।

तर व्यवसायीको मात्रै होइन, ग्राहकको  मनसाय  समेत यस वर्ष परिवर्तन देखिएको छ। विराटनगरकी सुनिता खनाल सुवेदी तीज मनाउने खासै मन नभए पनि श्रीमान्का लागि व्रत बस्ने भएकाले आवश्यक सामग्री खरिद गर्न बजार आएको बताउँछिन्।

“यसपालि तीज मनाउने खासै मन छैन। देशका धेरै ठाउँमा बाढी आएको छ। यस्तो अवस्थामा पर्वको रौनक पनि कम भएको महसुस हुन्छ। तर श्रीमान्का लागि व्रत बस्ने भएकाले आवश्यक सामान किन्न आएकी हुँ,” उनले भनिन्।

यस्तै, कस्मेटिक सामग्रीको व्यवसाय गर्दै आएकी रमिता राय पनि यस वर्ष तीजमा व्यापार खासै नभएको बताउँछिन्। विगतका वर्षमा तीजको समयमा कस्मेटिक सामग्रीको बिक्री उल्लेख्य हुने गरे पनि यस वर्ष ग्राहकको चाप घटेको उनको भनाइ छ।

“विगतका वर्षमा तीजको समयमा कस्मेटिक सामग्री धेरै बिक्री हुन्थ्यो। यस वर्ष भने व्यापार खासै छैन। बाढीको कारण पनि मानिसहरूले खर्च कम गरेको जस्तो देखिन्छ,” रायले भनिन्।

व्यवसायीहरूका अनुसार तीजको समयमा विशेष गरी कपडा, गहना, कस्मेटिक तथा शृङ्गारका सामग्रीको बिक्री बढ्ने गरेको थियो। तर यस वर्ष ग्राहकले आवश्यकताअनुसार मात्रै सामग्री खरिद गर्ने गरेका छन्। कतिपयले विगतमा जस्तो तडकभडक नगरी सामान्य रूपमा तीज मनाउने तयारी गरेका छन्।

देशका विभिन्न स्थानमा आएको बाढी पहिरो, आर्थिक गतिविधिमा आएको सुस्तता र बढ्दो खर्चका कारण चाडपर्वको बजार प्रभावित भएको व्यवसायीहरूको भनाइ छ। यसको असर विराटनगरको गुद्री बजारमा मात्रै नभई साना तथा मध्यम व्यवसायमा समेत परेको उनीहरू बताउँछन्।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं