सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार भदौ २८ गते बिहान २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकलमा सवार चालकसहित दुई जना गम्भीर घाइते भएका थिए।

प्रहरीले घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा अस्पताल पठाएको थियो। उपचारका क्रममा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका–३ निवासी २९ वर्षीय पारस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी तथा इनरुवा नगरपालिका–३ का ३४ वर्षीय सागर रेग्मीको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।